घरायसी विवादमा ससुराली पुगेर श्रीमतीमाथि छुरा प्रहार गर्ने अन्सारी पक्राउ


eShilalekh

१९ कार्तिक २०८३, बिहीबार १५:५५

सिमराः घरायसी विवादलाई लिएर श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेटा गाउँपालिका-७ जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन् ।

अंसारीलाई वीरगन्ज महानगरपालिका-१६ स्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अंसारीले मंगलबार बिहान जीपुरसिमरा उपमहानगरपालिका-२० कञ्चनपुरस्थित ससुराली पुगेर २५ वर्षीया श्रीमती गुल्सान अंसारीमाथि छुरा प्रहार गरेका थिए ।

माइतीमा रहेकी श्रीमतीलाई कुरा गर्नु छ भन्दै नजिकैको आँपबारीमा बोलाएर अंसारीले शरीरको विभिन्न भागमा छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । घटनापछि खोजी गर्दै जाने क्रममा अंसारी होटलबाट पक्राउ परेका हुन् । अंसारीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ । 

छुरा प्रहारबाट गम्भीर घाइते गुल्सानको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भईरहेको छ । घटनालगत्तै आफन्तले उनलाई नारायणी अस्पताल पुर्याएका थिए । त्यहाँबाट वीरगन्ज हेल्थ केयरमा ल्याई आईसियुमा राखेर उपचार भईरहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्