सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


eShilalekh

१९ कार्तिक २०८३, बिहीबार १३:५५

सिरहा: सिरहा नगरपालिका-११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा बिहीबार बिहान ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना पुरुषको मृत्यु भएको छ।

चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका नामथर र वतन नखुलेका ती दुवै पुरुषलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै फरार भएका ट्रक चालकको खोजी तीव्र पारिएको छ भने दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिइँदै छ। साथै, मृतकहरूको पहिचान खुल्न नसकेका कारण उनीहरूका आफन्तको खोजी तथा पहिचान गर्ने कार्यसमेत जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्