जीतपुरसिमरा–७ का वडा सदस्य मैनालीको राजीनामा स्वीकृत

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य नविन मैनालीले आफ्नो पदबाट राजीनामा दिएका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा सदस्य पदमा निर्वाचित मैनालीले बुधबार राजीनामा दिएका हुन् ।
नगर प्रमुख राजन पौडेल समक्ष उनले बुझाएको राजीनामा बिहीबार स्वीकृत गरिएको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले मैनालीको राजीनामा स्विकृत भएको जानकारी दिएका छन् ।
२०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार हुँदै एक हजार पाँच सय ३९ मतसहित मैनाली सदस्यमा निर्वाचित भएका थिए । उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भएका छन् । मैनालीले गत जेठ २० गते रास्वपा प्रवेश गरेको घोषणा गरेका थिए ।
मैनालीले आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।





