जीतपुरसिमरा-१६ का १२८६ परिवारको विवरण स्वीकृत, लालपुर्जा पाउने आशा बढ्योः वडाध्यक्ष खरेल

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-१६ का झण्डै एक हजार तीन सय भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको विवरण स्वीकृत भएको छ । उपमहानगरपालिकाको बिहीबार बसेको ७२औं कार्यपालिका तथा स्थानीय तह भूमि समस्या सहजीकरण समितिको बैठकले उक्त वडाको एक हजार दुई सय ८६ परिवारको विवरण स्वीकृत गरेको हो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड २०८३ अनुसार वडा नं. १६ का १३ भूमिहीन दलित, ४७ भूमिहीन सुकुम्बासी र एक हजार दुई सय २६ अव्यवस्थित गरी जम्मा एक हजार दुई सय ८६ परिवारको विवरण जिल्ला समितिमा पठाउने निर्णय गरेको प्रवक्ता भोजबहादुर खत्रीले जानकारी गराएका छन् ।
यता वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले वर्षौंदेखि सपना साकार हुने दिशामा अघि बढेको बताए । उनले लालपुर्जा प्राप्ति प्रक्रिया मात्र नभई जनताको अधिकार, सम्मान र सुरक्षित भविष्यसँग जोडिएको अभियान रहेको बताएका छन् ।
खरेलले अभियानमा सहयोग पुर्याउने वडाबासी, पूर्व तथा वर्तमान वडा समिति, वडा र नगरस्तरीय सहजीकरण समिति, नगर कार्यपालिकाप्रति आभार व्यक्त गरेका छन् ।







