सिरहा: कुखुरा फार्म नजिकैको पोखरीमा एक पुरुषको शव फेला

सिरहा: सिरहाको गोलबजार नगरपालिका-६ सैनिक चोक टुड्कियास्थित पोखरीमा एक पुरुषको शव फेला परेको छ।
कुखुरा फार्म छेउमा रहेको आँप बगैँचा मा कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा गोलबजार नगरपालिका-३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमारको शव फेला परेको हो। परिवारका अनुसार उनी भाइटीकाको भोलिपल्टदेखि सम्पर्कविहीन थिए।
स्थानीयले शव देखेपछि गोलबजार नगरपालिका-६ का वडाध्यक्ष सञ्जित लामालाई जानकारी गराएका थिए। वडाध्यक्ष लामाले तत्काल प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक दीपक खरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी निरीक्षक खरेलका अनुसार शवको अवस्था हेर्दा करिब एक साताअघिदेखि नै पोखरीमा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





