कलैयामा विद्युत् तार सर्ट भई आगलागी हुँदा करिब १० लाखको क्षति

सिमराः बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वामा मंगलबार बिहान विद्युत् तार सर्ट भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
बिहान करिब ३ बजे स्थानीय रतन महरा चमारको घरमा विद्युत् पोलको तार सर्ट हुँदा आगलागी सुरु भएको हो। आगलागीबाट घरभित्र रहेका दुईवटा साइकल, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, बाख्रा तथा गरगहनालगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो फैलिँदा छिमेकी धुरेन्द्र महरा र हरिन्दर रामको घरमा समेत आंशिक क्षति पुगेको छ।
आगलागीको खबर पाएलगत्तै स्थानीयवासी र सुरक्षाकर्मी उद्धार तथा आगो निभाउने कार्यमा खटिएका थिए। कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, प्रहरी चौकी मटिअर्वा र सशस्त्र प्रहरी बल मटिअर्वाको संयुक्त प्रयासमा बिहान करिब ४ बजे आगो नियन्त्रणमा लिइएको थियो।
प्रहरी चौकी मटिअर्वाका प्रहरी नायब निरीक्षक राकेश साहका अनुसार उक्त आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।






