कलैयाका आगलागी पीडित परिवारलाई उपमहानगरपालिकाद्वारा राहत प्रदान

सिमराः बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वामा आगलागीबाट ठूलो क्षति व्यहोरेका रतन महरा चमारको परिवारलाई कलैया उपमहानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ।
मंगलबार बिहान करिब ३ बजे भएको आगलागीमा घरका सामान, खाद्यान्न, लत्ताकपडा तथा बाख्रालगायतका सम्पत्ति जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो।
पीडित परिवारको तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै नगर प्रमुख विनोद साहले वडा नम्बर १० का वडा अध्यक्षको रोहबरमा राहत सामग्री हस्तान्तरण गरेका हुन्।
उपमहानगरपालिकाले परिवारलाई चार बोरा चामल, खाना पकाउने ग्यास सिलिन्डर, चुलो, भाँडाकुँडा, लत्ताकपडा, कम्बल, त्रिपाल तथा नगद पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।






