जीतपुरसिमरा–१८ मा दुईदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-१८ लामीडाँडास्थित बालबालिका आधारभूत विद्यालयमा दुईदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । विदेशी विशेषज्ञ चिकित्सकहरूको समेत उपस्थिति रहेको शिविरबाट पाँच सय ५० जनाभन्दा बढी स्थानीयवासीले उपचार सेवा लिएका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ को कार्यालयको सहकार्य तथा नयाँ ज्योति नेपाल ललितपुरको आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरको उद्घाटन वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्लेले गरेका थिए ।
शिविरमा चिकित्सकहरू डा. सुप्रिमा सिंह महर्जन, डा.अब्रिक मानन्धर, दन्त चिकित्सक डा.रितिका श्रेष्ठ, बालरोग विशेषज्ञ डा. चान इकेडा राक्वेल र डा. माइकल हिलीले बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा दन्त समस्या, मधुमेह र उच्च रक्तचापलगायत नसर्ने रोगको उपचारसँगै ढाड तथा कम्मर दुख्ने, जोर्नी दुख्ने, आँखा सुख्खा हुने, छालामा दाग तथा बिमिरा आउने र पाइल्सको समस्या भएका बिरामीहरूको परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श दिइएको थियो ।
सेवा लिएर फर्किने बिरामीहरूलाई आयोजक संस्थाका तर्फबाट न्यानो टोपी, पञ्जा, क्याप टोपी, दाँत माझ्ने ब्रस र मञ्जन तथा कम्मर दुखाइबाट राहत दिने कम्मर बेल्टलगायतका स्वास्थ्य तथा दैनिक उपयोगी सामग्रीहरूसमेत वितरण गरिएको थियो ।






