बेहरीमा एमालेको टोल कमिटी गठन


eShilalekh

२९ माघ २०७८, शनिबार १६:५२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ स्थित बेहरीमा नेकपा एमालेको भेला सम्पन्न भएको छ । भेलाले रामसुरत महतोको अध्यक्षतामा २५ सदस्यीय कमिटी टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कोशी चौधरी, सचिव सन्तोष महतो, उपसचिव अलि असगर र राजु महतोलगायत रहेका छन् ।

यसअघि भेलालाई सम्बोधन गर्दै एमाले मधेस प्रदेश कमिटी सदस्य एव्म पूर्व जिल्ला ईन्चार्ज देवनारायण चौधरीले स्थानिय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए । जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्दै चौधरीले निर्वाचन लक्षित कार्यक्रम अघि बढाउन कार्यकर्तालाई निर्देशन समेत दिए ।

कार्यक्रममा एमाले महाधिवेशन प्रतिनिधि मनोज पौडेलले अघिल्लो चुनावमा वडा नं. १४ मा एमाले पराजित भएकै कारण बेहरीको विकासले गति लिन नसकेको दाबी गरे । उनले बेहरीसहित समग्र वडाको विकासका लागि एमालेको जित आवश्यक रहेको बताए ।

भेलामा एमाले प्रदेश कमिटी सदस्य चयन मगरले जनताको पक्षमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न काम गरिरहेका बेला वर्तमान सरकारले आयोग विगठन गरेर जनताविरोधी काम गरेको बताईन् । उनले सुकुम्बासी समस्या समाधानका लागि पनि एमालेलाई देशभर जिताउन आवश्यक रहेको बताएकी छिन् ।

एमाले वडा कमिटी अध्यक्ष यमनाथ ढकालको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण उपाध्यक्ष तेजनारायण चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्