तेक्वान्दो खेलाडी कार्कीले मकाउमा जिते रजत
सिमराः मकाउमा सम्पन्न ‘ग्रेटर बे कप तेक्वान्दो इन्टरनेशनल सिरिज’ मा नेपाली तेक्वान्दो खेलाडी सुरज कार्कीले रजत पदक जितेका छन् ।
मकाउस्थित ताप सिएक मल्टी स्पोर्टस् पेभेलियनमा भएको सिनियर ८० केजी मूनि तौल समूहको फाइनल खेलमा कार्कीले रजत जितेका हुन् । उनि फाइनल भिडन्तमा चिनका खेलाडीसंग १६–१४ ले पराजित भएका थिए ।
पहिलो खेलमा बाइ पाएका कार्कीले सेमिफाइनलमा हङकङका खेलाडीलाई पराजित गर्दै फाइनल भिडन्तको स्थान सुरक्षित गरेका थिए । कार्कीले यसअघि हङकङमा भएको खेलमा समेत रजत जितेका थिए ।
प्रतियोगितामा सहभागिता जनाउन नेपालबाट नौ खेलाडीसहित ११ जनाको टोली मकाउ प्रस्थान गरेको थियो भने दुई जना खेलाडीले मकाउबाटै सहभागिता जनाएका थिए । नेपालबाट गएको टोलीको नेतृत्व अन्तर्राष्ट्रिय निर्णायक कुमार घिसिङले गरेका थिए भने मकाउमा नेत्रबहादुर तिमिल्सिनाले टोलीको नेतृत्व गरेका थिए ।