सिमरा खानेपानीमा हुसेनलाई निरन्तरता, चौथो पटक अध्यक्षमा निर्वाचित


eShilalekh

२३ फाल्गुन २०७८, सोमबार १०:२९

सिमराः दलिय चुनावको झल्को दिने गरी भएको खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सिमराको निर्वाचनमा कासिम हुसेन पुनः अध्यक्षमा निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनमा हुसेन चौथो पटक अध्यक्षमा विजयी भएका हुन् ।

यसअघि १२ वर्ष खानेपानीको नेतृत्व सम्हालेका हुसेनलाई उपभोक्ताले एक हजार तीन सय ३३ मत दिएर निर्वाचित गरेका छन् । हुसेनले उक्त मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी राजकुमार भट्टराईले एक हजार एक सय १९ मत पाएका छन् । हुसेनले दुई सय १४ को मतान्तरले जित हात पारेका हुन् ।

राजनितिक लडाई र प्रतिष्ठाको विषय बनाइएको निर्वाचनमा भट्टराई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको दलिय समर्थनमा अध्यक्षको उम्मेदवार बनेका थिए भने हुसेनलाई नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । केन्द्रीय गठबन्धनलाई निरन्तरता दिदै कांग्रेस, माओवादी र समाजवादी एकतावद्ध भएर खानेपानीको निर्वाचनमा होमिएका थिए ।

तीन दलिय गठबन्धनको चुनौतीविरुद्ध एमालेले राष्ट्रिय जनमोर्चाको समर्थनमा हुसेन नेतृत्वको ११ सदस्यीय प्यानल तयार गर्दै चुनावी प्रतिस्पर्धामा उभिएको थियो । उक्त प्यानलमध्ये उपाध्यक्षबाहेक १० जना हुसेन नेतृत्वको उम्मेदवार निर्वाचित भए । उपाध्यक्षमा भने भट्टराई नेतृत्वका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना जित हात पारे ।

तिमिल्सिनाले एक हजार एक सय ८९ मत प्राप्त गर्दा उपाध्यक्षका अर्का प्रत्याशी शशी कुमार गौतमले एक हजार एक सय ६३ मत प्राप्त गरेका छन् । तिमिल्सिना २६ मतको मतान्तरले विजयी भएका हुन् ।

तिमिल्सिनाबाहेक अन्य सबै पदमा हुसेन नेतृत्वको उम्मेदवार विजयी भएका छन् । कार्यसमितिको सचिवमा जय किशोर राउतले जित हात पार्दा राजेन्द्र सुवेदी पराजित भए । राउतले एक हजार दुई सय २९ गत प्राप्त गरे भने सुवेदीले एक हजार एक सय ३४ मत ल्याएका छन् । सचिव पदमा राउत ९५ मतको मतान्तरले विजयी भएका हुन् ।

सहसचिव र कोषाध्यक्षमा एक सय पाँचको फराकिलो मतले सानुवाबु कुर्मी र लोकराज पौडेल निर्वाचित भए । सहसचिवमा कुर्मीले एक हजार दुई २४ मत प्राप्त गर्दा सहसचिवमा अर्का उम्मेदवार रुद्रनाथ शर्माले एक हजार एक सय १९ मत प्राप्त गरेका छन् । यसैगरी कोषाध्यक्षमा पौडेलले एक हजार दुई २८ मत ल्याउदा अर्का उम्मेदवार दिलुमाया श्रेष्ठले एक हजार एक सय २३ मत ल्याएकी छिन् ।

हुसेन नेतृत्वको प्यानलका प्रकाश बहादुर क्षेत्री अत्यधिक मत ल्याउदै सदस्यमा निर्वाचित भए । क्षेत्रीले एक हजार दुई सय ७७ मत ल्याए । यसैगरी अन्य सदस्यमा राजकुमार बर्तौला र निर्मला केसीले एक हजार दुई सय ४४ मत प्राप्त गरे । सदस्य पदमै तोयानाथ लुईटेलले एक हजार दुई सय, मुमनाथ शर्माले एक हजार एक सय ८६ र शुभद्रा कुमारीले एक हजार एक सय ७४ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीले जानकारी दिए ।

उपभोक्ता परिचयपत्र नविकरण गराएका तीन हजार दुई सय २७ उपभोक्तामध्ये दुई हजार पाँच सय ३२ ले नेतृत्व चयनका लागि मतदान गरेका थिए । मतदान गरिएकोमध्ये केही मतपत्र बदर भएको थियो ।

निर्वाचन कमिटीले करिब २४ घण्टा सम्म चलेको मतगणनाको अन्तिम मतपरिणाम सुनाएपछि एमाले र जनमोर्चाका नेताकार्यकर्ताले विजय जुलुस निकाल्दै खुशीयाली मनाएका थिए । चार पटकसम्म लगातार निर्वाचित हुसेनले आफूमाथी उपभोक्ताले गरेको विश्वासलाई सम्मान गर्दै खानेपानीको विकासका लागि सधैजसो प्रतिबद्ध भएर काम गर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्