बारा कांग्रेस अधिवेशन: संस्थापन पक्षका बुढाथोकी र रायबीच प्रतिस्पर्धा हुने


eShilalekh

२६ फाल्गुन २०७८, बिहीबार ०९:०८

कलैया: नेपाली कांग्रेस बाराको नेतृत्व दोस्रो चरणको निर्वाचनले टुंगो लगाउने भएको छ । पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

कांग्रेसमा सभापतिका लागि कुल खसेको मतको ५१ प्रतिशत प्राप्त गरेमात्रै बिजयी हुने अन्यथा दोस्रो चरणको निर्वाचनबाट चुनिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम कांग्रेसको बाराको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

सभापति पदका लागि प्रतिस्पर्धा गरिहेका तीन उम्मेदवारले बुधवार भएको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न सकेनन् । कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा भएको निर्वाचनमा कुल दुई हजार चार सय ९३ मत मध्ये दुई हजार चार सय मत खसेको थियो । जसमध्ये सभापतिका उम्मेदवार राजेश राय यादवले आठ सय ३३, शम्भुबहादुर बुढाथोकीले आठ सय ९ र रामानन्द यादवले सात सय आठ मत प्राप्त गरेका छन् ।

उम्मेदवारले प्राप्त गरेको उक्त मत जितका लागि पर्याप्त छैन् । अब दोस्रो चरणको निर्वाचनमा भने राय र बुढाथोकीबीच प्रतिस्पर्धा हुनेछ । सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनेछ । जसअनुसार यादव दोस्रो निर्वाचनमा उम्मेदवार हुने छैनन् । यादव संस्थापन इतर समुहका हुन् ।

सभापति पदका उम्मेदवार राय र बुढाथोकी संस्थापन पक्षका हुन् । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका दुई उम्मेदवारवीच प्रतिस्पर्धा हुने देखिएको छ । यता संस्थाापन इतर समुहले कसलाई सघाउने भन्ने विषय महत्वपूर्ण छ । यादव समुहले सघाउने उम्मेदवार अबको सभापति बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्