रतनपुर युनाइटेड तेस्रो ल्होछार कपको फाइनलमा प्रवेश, वीरगन्जसंग भिड्ने


eShilalekh

१० माघ २०८१, बिहीबार २१:१६

सिमराः रतनपुर युनाइटेड क्लब निजगढ नगरपालिका १० लालमा जारी तेस्रो ल्होछार कप खुल्ला नकआउट फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बेङखाडी युवा क्लबलाई ४–३ ले पराजित गर्दै रतनपुर फाइनलमा प्रवेश गरेको हो ।

रतनपुरको जीतमा दीपेश आलेले दुई, आनन्द गुरो र उज्ज्वल भण्डारीले समान एक–एक गोल गरे । बेङखाडीका लागि सुदीप आलेले दुई र बिनु आलेले एक गोल फर्काए ।

रतनपुर युनाइटेडका गणेश हमाल प्लेयर अफ दि म्याच घोषित भए । रतनपुरले अब उपाधिका लागि माघ १२ गते वीरगन्ज युनाइटेड क्लबसंग खेल्नेछ ।

एभरेष्ट एकेडेमीलाई २–१ ले पराजित गर्दै वीरगन्ज फाइनलमा प्रवेश गरिसकेको छ । योङ स्टार युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख दुई हजार दुई सय दुई र उपविजेताले एक लाख एक हजार एक सय एक नगद प्राप्त गर्नेछन् । फाइनल खेल माघ १२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्