मर्यादित रुपमा होली मनाउन जिल्ला प्रशासन कार्यालय बाराको अनुरोध

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले होली पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आइतवार विज्ञप्ति जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी दिएका छन् ।
होली पर्व मनाउने क्रममा व्यक्तिको इच्छा विपरित जथाभावी रङ्ग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता अराजक कार्य नगर्न जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल नगर्न सबैमा अनुरोध गरेको छ ।
त्यसैगरी विज्ञप्तिमा अस्पताल, विद्यालय, कार्यालय लगायतका स्थानहरूमा ध्वनी प्रदुषणबाट समस्या उत्पन्न हुने र नेपालीहरुको मौलिक बाजागाजा, लोक संस्कृति समेत लोप हुने अवस्थामा पुगेकोले डिजे साउण्ड सिस्टम बजाउन र सवारी साधनमा राखेर एक ठाउँबाट अर्को ठाउँमा बजाउँदै लैजाने कार्यलाई निरुत्साहित गर्न यस्तो रोक लगाउने निर्णय गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा जिल्लाका विभिन्न भागमा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रमहरूमा डिजे साउण्ड सिस्टम प्रयोग गरी चर्को आवाजमा बजाउने गरिएका कारण सर्वसाधारणको स्वास्थ्यमा नकरात्मक असर परेको गुनासो आएकाले डिजे साउण्डमा रोक लगाउनुपरेको प्रजिअ अधिकारीको भनाई छ ।





