सर्लाही प्रहरीद्वारा नक्कली नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ


eShilalekh

२८ फाल्गुन २०८१, बुधबार १३:५६

सर्लाहीः सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरका ४२ वर्षीय सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका ९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका ७ बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका २ का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका २ का ३५ वर्षीय सिहानता कुमारी देवी रहेका छन् ।

प्रहरीले उनिहरुलाई मलङ्गवा नगरपालिका ८ गोरखकाली नाकाबाट नक्कली नोटसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा भारतबाट बा ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा नेपालतर्फ प्रवेश गर्ने क्रममा रोकेर जाँच गर्दा नक्कली नोट बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एकएक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपियाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्वन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्