एमालेप्रति देशभर जनलहर बढेको छ: नेता नेम्वाङ


eShilalekh

१२ चैत्र २०७८, शनिबार १७:३५

सिमरा: नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा एमाले शक्तिशाली पार्टीको रुपमा स्थापित भईसकेको बताएका छन् । एमाले प्रवेशमा देखिएको आकर्षण र जनलहरले पार्टी अझै शक्तिशाली र जनताको पार्टी स्थापित भएको नेम्वाङले दावी गरे ।

नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीको प्रथम अधिवेशनको शनिवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता नेम्वाङले बैशाख ३० गतेको निर्वाचनपछि देश एमालेमय हुनेमा दुई मत नरहेको बताए । एमालेप्रति देखिएको आकर्षण स्वभाविक रहेको तर्क गर्दै उनले बढ्दो जनलहरले पार्टीलाई अझै उत्साहित र जिम्मेवार बनाएको बताएका छन् ।

एमाले रोजेर देशभर दिनहु पार्टी प्रवेशका कार्यक्रम हुनुका पछाडी पदीय लोभ र स्वास्र्थ भन्दा पनि सरकारमा रहदा एमालेले देश र जनताको पक्षमा गरेको कामको प्रतिफल रहेको नेम्वाङको भनाई थियो । प्रतिपक्षमा रहेको अवस्थामा पनि गठबन्धन सरकारभित्र रहेका दलका नेताकार्यकर्ता एमाले प्रवेश गर्नुले देशमा एमालेको विकल्प नरहेको पुष्टि हुने नेम्वाङको भनाई थियो ।

जनताको विश्वासका कारण शक्तिशाली बन्दै गइरहेको एमालेलाई पराजित गर्न सकिने अवस्था नदेखेपछि अन्य दलहरु गठबन्धन जोगाउन लागिपरेको नेता नेम्वाङको दाबी थियो । एमालेविरुद्ध अन्य दलको मोर्चाबन्दीको औचित्य सकिएको भन्दै नेम्वाङले जनताको मन जितेर देखाउन चुनौती दिएका छन् ।

जनताको मत र विश्वास बनेको एमाले नेतृत्व सरकार ढालेर हाल सरकारमा रहेका गठबन्धनका बारेमा जनताले निर्णय लिने भन्दै नेम्वाङ एमालेको भन्दा आफ्नो पार्टीको चिन्ता लिन आग्रह गरे । एक अर्काको सहारा विना अघि बढ्न नसक्ने अवस्थामा पुगेका गठबन्धन दलले एमालेलाई चुनौती दिनुको औचित्य पनि सकिएको उनको भनाई थियो ।

‘गठबन्धन दलका केही नेताहरु एमाले अब सकिने भन्दै प्रचार गरेर हिडिरहेका छन् । एमालेको मतपेटिका नै खाली हुन्छ भनिरहेका छन्’ नेम्वाङले भने ‘देशभर एमालेप्रति देखिएको जनलहरले एमालेको होईन उहाँहरुको मतपेटिका अब खाली हुने स्थिती भईसकेको छ ।’

नेता नेम्वाङले स्थानिय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकाले गरेका कामका सूचि बोकेर जनतामाझ पुग्न कार्यकर्तालाई आग्रह गरेका छन् । राष्ट्रियता र देश तथा जनताको हितमा गरेका कामले नै एमालेलाई अबको निर्वाचनमा जनताले रोज्ने नेम्वाङको दाबी थियो ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले समाजवादको नारा बोकेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा मिसिएका माधवकुमार नेपालले एमालेविरुद्ध फैलाएका भ्रमलाई जनताले विश्वास नगर्ने बताएका छन् । जनताको सरकारलाई ढालेर परमादेशबाट सत्ता पुगेका गठबन्धनले अबको निर्वाचनमा नतिजा प्राप्त गर्ने पौडेलको भनाई थियो ।

यसैगरी पोलिटव्युरो सदस्य एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले एमालेको पक्षमा देखिएको जनमतले अन्य दल अत्तालिने अवस्थामा पुगेको बताए । एमाले रोज्नेको संख्या अझै बढ्ने भन्दै मैनालीले जनता र देशको हितमा निश्वार्थ भावनाले काम गर्न आग्रह गरे ।

कार्यक्रममा पोलिटव्युरो सदस्य एव्म पूर्वमन्त्री ज्वालाकुमारी साहले आफ्नो स्वार्थका लागि जनताको मतको कदर नगरेका गठबन्धनका दलका नेताले अब परिणाम भोग्ने बताईन् । सरकार जोगाउन र पुनः सत्तामा आउनका लागि सत्ता गठबन्धनमा भईरहेको खेलका बारेमा जनताले बुझिसकेको भन्दै नेतृ साहले त्यसको फैसला बैशाख ३० गतेको निर्वाचनले गर्ने बताईन् ।

अधिवेशको उद्घाटन समारोहमा एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला ईन्चार्ज बलबिर चौधरी, केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वतीदेवी चौधरी, मधेस प्रदेश कमिटीका सचिव डा. कृष्ण पौडेल, एमाले बाराका अध्यक्ष विनोद साह, पूर्वअध्यक्ष देवनारायण चौधरी, जिल्ला सचिव अध्यानन्द पाण्डे लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका सयौं नेताकार्यकर्तालाई नेता नेम्वाङले स्वागत गरेका थिए । अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका निर्वाचित वडाध्यक्ष, एकिकृत समाजवादीका नगर उपाध्यक्ष र माओवादी केन्द्रका नेतासहित एक सय ५० भन्दा बढी एमाले प्रवेश गरेको सचिवालय सदस्य मनोज पौडेलले जानकारी दिए ।

एमाले जीतपुरसिमरा नगर संयोजक भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिवालय सदस्य पौडेलले गरेका थिए । कार्यक्रममा अनेमसंघ जीतपुरसिमरा नगर कमिटीकी अध्यक्ष अनितालम्साल अधिकारीले गरेकी थिईन् ।

उद्घाटन समारोहमा एमालेका प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका उपाध्यक्ष टिना सुवेदी, उपसचिव अमृतशर्मा बजगाई, भुलन चौधरी, जिल्ला कमिटी, नगर र वडा कमिटीका पदाधिकारी तथा सदस्य, जनवर्गिय संगठनका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । उद्घाटनपछिको अधिवेशको बन्दसत्रले पाँच पदाधिकारीसहित ८५ सदस्यीय नगर कमिटी चयन गर्नेछ् ।

प्रतिक्रिया दिनुहोस्