बारा समाज टेक्सासको तीज विशेष कार्यक्रम सम्पन्न

टेक्सास (अमेरिका): बारा समाज टेक्सासको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । टेक्सासमा बसोबास गर्दै आएका बारा जिल्लाका नेपालीहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रवासमा पनि नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्ने उद्देश्य राखिएको कार्यक्रममा सहभागी महिलाहरूले परम्परागत तीजका गीतमा नृत्य प्रस्तुत गर्दै आपसमा खुशी साटासाट गरेका थिए । समाजका अध्यक्ष अमरनाथ साहले उक्त कार्यक्रमले आपसी भाइचारा, सद्भाव र सामाजिक एकतालाई अझ मजबुत बनाएको बताए ।
साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका महासचिव रामप्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक भोला मैनालीले राखेका थिए । संयोजक मैनालीले तीज केवल पर्व मात्र नभई आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक पहिचानलाई जोड्ने एउटा महत्त्वपूर्ण माध्यम रहेको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, सहयोगीलाई धन्यवाद ज्ञापन गरे ।







