गरिमा हत्या प्रकरणः अनुसन्धानका लागि थप एक बालक पक्राउ


eShilalekh

८ भाद्र २०८३, सोमबार १४:२५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कार र हत्या अनुसन्धानका क्रममा प्रहरीले थप एक नाबालकलाई पक्राउ गरेको छ । योसँगै यस प्रकरणमा नियन्त्रणमा लिइएका व्यक्तिहरूको संख्या ९ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार आइतबार सिमरा आसपासको क्षेत्रबाट ती बालकलाई नियन्त्रणमा लिइएको हो । उनी यसअघि नै हिरासतमा रहेका १६ वर्षीय बालकका साथी हुन्। पक्राउ परेका व्यक्ति नाबालक भएकाले प्रहरीले नाम र पहिचान भने सार्वजनिक गरेको छैन।

साउन ३१ गते बिहान करिब ८:३० बजे स्थानीय म्याजिक चालक प्रोग्रेस चौधरीकी पाँच वर्षीया छोरीसँग खेल्न गएकी गरिमा एक्कासी हराएकी थिइन् । हराएको तीन दिनपछि घरबाट करिब एक सय ५० मिटर दक्षिणमा रहेको एक खाली घरमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।

शव फेला परेको दिन नै प्रहरीले २४ वर्षीय प्रोग्रेस चौधरी र उनका १६ वर्षीय सहचालक बालकलाई पक्राउ गरेको थियो । घटनामा संलग्नताको आशंकामा प्रहरीले प्रोग्रेसका परिवारका ६ जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

हिरासतमा रहेका १६ वर्षीय सहचालकले बालिकाको बलात्कारपछि डोरीले घाँटी कसेर हत्या गरेको स्वीकार गरिसकेका छन् । शव भेटिएकै दिन पक्राउ परेका बालकले बालिकालाई बलात्कार गरेर डोरीले घाँटी कसेर हत्या गरेको बताएका थिए ।

यसअघि आफू एक्लैले हत्या गरेको जिम्मा लिएका बालकले आइतबार सार्वजनिक एक भिडियोमा घटनामा अर्को एक साथी समेत संलग्न रहेको बताएका छन् । ती साथीले पनि बालिकालाई बलात्कार गरेको उनको दाबी छ ।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियोको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रादेशिक अस्पताल कलैयामा ओसीएमसीका क्रममा लिइएको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

भिडियो कसले सार्वजनिक गर्यो भन्ने प्रहरीले खुलाएको छैन । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार संवेदनशील भिडियो कसरी र कसले सामाजिक सञ्जालमा सार्वजनिक गर्यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्