हेटौडा स्तब्ध, एनआरटी सेमिफाईनलमा प्रवेश


eShilalekh

१२ चैत्र २०७८, शनिबार २२:०७

सिमरा: न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालमा शनिवार भएको खेलमा बिजय युथ क्लब हेटौडालाई ३-१ ले स्तब्ध पार्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।

एनआरटीको जितमा मासुकी ईहिनी अलोमोले दुई र स्टेफेन समिरले एक गोल गरे । हेटौडाका लागि बिमल राना मगरले गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टिमले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा एनआरटीले दुई गोल थप्दै प्रतियोगितमा अल्घिल्लो चरणको यात्रा तय गर्न सफल भएको हो । ए डिभिजन क्लब एनआरटीविरुद्ध उत्कृष्ट सुरुवात गरेको हेटौडाले सम्हालिन नसक्दा पराजय भोग्न बाध्य भयो । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसकेकको हेटौडा अन्नत ३-१ को नतिजा सुम्पदै घर फर्कियो ।

खेलको १८औं मिनेटमा हेटौडाका लागि बिमल राना मगरले हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । अमिर श्रेष्ठको पासलाई सदुपयोग गर्दै बिमलले गोल गरेका थिए । उनको गोलले उत्साहित बनेको हेटौडा सम्हालिन नसक्दा लगत्तै बराबरी गोल खान पुग्यो । एनआरटीका मासुकीले खेलको २३औं बिशाल तामाङको क्रस बललाई सदुपयोग गर्दै गोल गरे । उनको गोलले खेल १-१ को स्थितीमा पुग्यो ।
एनआरटीविरुद्ध आक्रामक खेल सुरु गरेको हेटौडाले उत्कृष्ट लय भने कायम राख्न सकेन् । घरेलु दर्शकको समर्थन पाएको हेटौडाका बिमल राना मगरले पहिलो हाफमा केही अवसर खेर फाले । हेटौडाविरुद्ध एनआरटीले दोस्रो हाफमा उत्कृष्ट पस्कियो ।

हेटौडाकै रन्जन बिष्टसहित मैदानमा उत्रिएको एनआरटीले थुप्रै अवसर सिर्जना गरेपनि फिनिसिङ पक्षमा भने चुकेको थियो । ६०औं मिनेटमा प्राप्त गरेको अवसर सदुपयोग गर्न नसक्दा एनआरटीले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्‍यो ।।

एनआरटीका मासुकीले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बललाई हेटौडाका गोलरक्षक अशोक बरालले बचाउ गर्ने क्रममा हातमा लागेर फर्किएको बलमा दीपेश घलेको प्रहार क्रसबारमा ठोक्किन पुगेको थियो । दीपेशको उत्कृष्ट प्रहार क्रसबारमा लागेर फर्किएपछि हेटौडाका खेलाडीले क्लियर गरेका थिए । खेलको ६६औं मिनेटमा एनआरटीका रन्जन बिष्टले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बललाई हेटौडाका गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको दुई टिमबीचको खेलमा दुवै टिमले प्राप्त गरेका केही अवसर चुकाउन पुग्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय सुरु भएको एक मिनेटमै एनआरटीले अग्रता लियो । मासुकीले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे ।

मासुकीको गोलले एनआरटी उत्साहित बन्दा हेटौडा दवावमा देखियो । अतिरिक्त समयको २५औं मिनेटमा एनआरटीले तेस्रो गोल गर्दै जित सहज बनाएको थियो । वन भर्सेस वनको स्थितीमा एनआरटीका स्टेफेन समिरले गोल गर्दै टिमलाई ३-१ को जित दिलाए ।

एनआरटीको जितमा दुई गोल गरेका मासुकी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफिसहित पाँच हजार प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत आईतवार हिमालयन शेर्पा क्लब र बिभागिय टिम एपिएफ क्लबबीच खेल हुनेछ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्