छोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ


eShilalekh

१० बैशाख २०८२, बुधबार १३:१०

वीरगन्जः पर्सा प्रहरीले वीरगन्जमा आफ्नै नाबालिग छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका १४ चिनिमिल आवास क्षेत्र निवासी हाल सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेका व्यक्तिले आफ्नै १४ वर्षीय नाबालिग छोरीमाथि जबरजस्ती करणी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका व्यक्तिले आफ्नी जेठी श्रीमतीपट्टिको छोरीलाई आफ्नै कोठामा पटक–पटक जबरजस्ती करणी गरेको खुलासा भएको छ । पीडित बालिकालाई कोही कसैलाई घटनाबारे बताएमा उनले ज्यान मार्ने धम्कीसमेत दिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे पिडित बालिकाकी आमाले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीमा आरोपितले आफ्नै कोठामा बालिकामाथि जबरजस्ती करणी गरेको र विगतमा पनि यस्ता घटना दोहोरिएको उल्लेख गरिएको छ ।

जाहेरीका आधारमा प्रहरीले तत्काल कारबाही अगाडि बढाउँदै आरोपितलाई निजकै कोठाबाट नियन्त्रणमा लिएको डिएसपी लम्सालले जानकारी दिए । पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्