जीतपुरमा आजदेखि व्यापार तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

सिमराः जीतपुरमा आज (बिहीवार) जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव सुरु हुँदैछ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को सहअयोजनामा महोत्सव हुन लागेको हो ।
बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जीतपुरको शान्ति टोल मैदानमा साँझ ६ बजे आयोजना हुने औपचारिक कार्यक्रमकाबीच सांसद श्रेष्ठले महोत्सवको उद्घाटन गर्नेछन् ।
जेठ २५ गतेसम्म आयोजना हुने महोत्सवले जीतपुरको पहिचान स्थापित गर्ने र बजारलाई थप चलायमान गर्न मद्दत पुर्याउने विश्वास आयोजकको छ । महोत्वसमा विभिन्न क्षेत्रका व्यावसायिक स्टल, बाल उद्यान, खेल र प्रदर्शनीसहित महोत्सव अवधिभर दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङका अध्यक्ष बिमल खड्गीले जानकारी दिएका छन् ।
महोत्सवलाई झण्डै एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा बारा र पर्साको पर्यटकीय गन्तव्यको समेत प्रवर्द्धन गरिनेछ ।