मधेस प्रदेशमा कृषि प्रवर्द्धनका लागि विश्वविद्यालय र पिस कोर नेपालबीच सहकार्य


eShilalekh

११ कार्तिक २०८३, बुधबार १३:०४

राजविराजः मधेस प्रदेशमा कृषि अनुसन्धान, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । राजविराजमा एक कार्यक्रमकाबीच मधेस कृषि विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक डा. किम्याह नजिउल्लाहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कृषि अनुसन्धानलाई व्यवहारमा उतार्न, कृषक समुदायसम्म आधुनिक प्रविधिको पहुँच विस्तार गर्न तथा प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षासहित द्धिपक्षीय सम्झौता भएको हो । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले यस सहकार्यबाट चारवटा उद्देश्य हासिल गर्ने लक्ष्य राखेको जानकारी दिए ।

अर्थमन्त्री भट्टराईका अनुसार मधेस कृषि विश्वविद्यालयलाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने कृषि प्रणाली, बाली विविधीकरण, पशुपालन, मत्स्य विकास तथा खाद्य सुरक्षासहितका क्षेत्रमा स्थानीय आवश्यकतामा आधारित व्यावहारिक अनुसन्धान गर्न यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्नेछ । विश्वविद्यालयको अनुसन्धान र प्राविधिक ज्ञानलाई कृषक समुदाय तथा विद्यालयहरूसम्म विस्तार गरी नयाँ खोज, नवीन प्रविधि र अनुसन्धानका उपलब्धिलाई खेतबारीसम्म पुर्‍याउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री भट्टराईले अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्रै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने धारणा राखेका छन् ।

अर्थमन्त्री भट्टराईले द्धिपक्षीय सम्झौता कागजमा मात्र सीमित हुन नहुने स्पष्ट पारे । उनले कृषि उद्यमशीलता वृद्धि, कृषक परिवारको आयआर्जनमा सुधार, पोषणको स्तरमा उन्नति तथा कृषि क्षेत्रमा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुने गरी परिणाममुखी काम हुनेमा आशावादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्