रामबहादुर बम्जन सम्पत्ति शुद्धीकरण मुद्दामा कारागार चलान

सिमराः तपस्वी भनिने रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई थुनामा राख्न आदेश गरेको हो । आदेशसँगै उनलाई मलंगवा कारागार चलान गरिएको छ ।
सम्पत्ति शुद्धिकरण कसुरमा बम्जनमाथि फागुन ५ गते २०८१ सालमा सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले असार १० गते २०८१ मा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो ।
उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर सम्पति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।