५० प्रतिशत अनुदानमा केराखेतीको बीमा गरेका निजगढका किसानले अनुदानमा स्प्रेयर ट्याङ्की पाउने


eShilalekh

१६ जेष्ठ २०८२, शुक्रबार २२:१७

निजगढ: बाराको निजगढ नगरपालिकाले ५० प्रतिशत अनुदानमा केरा खेतीको बीमा गरेका किसानहरूलाई स्प्रेयर ट्याङ्की वितरण गर्ने भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा केरा खेतीको बीमा गरेका किसानहरूलाई मात्र स्प्रेयर ट्याङ्की वितरण गर्न लागिएको हो ।

नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै पाँच दिनभित्र निवेदन दिन आग्रह गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाद्वारा जारी सूचनाअनुसार पाँच कठ्ठासम्म केरा खेती गर्ने किसानलाई एक थान र पाँच कठ्ठाभन्दा बढी खेती गर्ने किसानलाई दुई थान स्प्रेयर ट्याङ्की वितरण गरिनेछ।

नगरपालिकाले बीमालेख नम्बर र रसिदको प्रतिलिपि, किसानको नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित आवश्यक कागजातहरु संलग्न गरी पाँच दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ।

कृषि यान्त्रीकरण, उत्पादनवृद्धि तथा कृषकहरूको संरक्षणलाई मुख्य उद्देश्य बनाएर र बीमित किसानलाई प्राथमिकता दिने नीतिअनुसार सो कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्