मधेशमा ३२० किलोमिटर कालोपत्रे सडक निर्माण हुँदै, प्रधानमन्त्री ओलीले आइतबार शिलान्यास गर्ने


eShilalekh

१६ जेष्ठ २०८२, शुक्रबार २२:३१

सिमराः मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण हुने ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यासको तयारी पूरा भएको छ । योजनाको शिालान्यास जेठ १८ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

योजना अनुसार मधेश प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कालोपत्रे सडक निर्माण गरिनेछ । मधेशमा ३२० किलोमिटर कालोपत्रे सडक निर्माण हुनेछ ।

उक्त योजनाको डिजिटल शिलान्यास जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रधानमन्त्री ओलीले गर्ने कायक्रम तय भएको भौतिक पूर्वाधार मन्त्री सरोज यादवले जानकारी दिएका छन् । शिलान्यास कार्यक्रमलाई ऐतिहासिक र सन्देशमूलक बनाउने मन्त्रालयको तयारी रहेको मन्त्री यादवले बताए ।

‘यो मन्त्रालयको मात्रै होईन मधेश प्रदेशबासीको योजना हो । यो योजनाले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने छ’ मन्त्री यादवले भने ‘त्यसैले पनि यसलाई सन्देशमुलक बनाउन जरुरी छ । यस्ता योजनालाई निरन्तरता दिनुपर्छ ।’

मन्त्री यादवका अनुसार सडक निर्माणबाट ग्रामीण क्षेत्र शहरी केन्द्रसँग जोडिने, कृषि उत्पादन बजारसम्म पुर्याउन र आपतकालीन सेवा सहज हुने अपेक्षा गरिएको छ । सडकले रोजगारी सिर्जना, आर्थिक गति, व्यापार, पर्यटन र स्थानीय उद्योगधन्दा प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्