निजगढ नगरपालिकामा असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन्मा रोक

निजगढ: निजगढ नगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर–बहत्तर) को उत्खनन्, संकलन तथा ओसारपसार कार्य असार १ गतेदेखि भाद्र मसान्तसम्म निषेध गरिएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालले एक सूचना जारी गर्दै ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ र निजगढ नगरपालिकाको कार्यविधि, २०७९ को दफा ६ को उपदफा (१४) बमोजिम यस अवधिमा उत्खनन् कार्य रोकिएको उल्लेख गरेका छन् ।
नगरपालिकाले निजगढ क्षेत्रभित्रका नदी, खोला, खोल्सी लगायतका स्थलहरूबाट कुनै किसिमको नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ओसारपसार नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएको छ। निर्देशनको उल्लङ्घन गरेमा मधेश प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची ८ तथा निजगढ नगरपालिकाको आर्थिक ऐन, २०८१ अनुसार कानूनी कारबाही गरिने चेतावनी दिइएको छ ।
