नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु, आफन्तद्वारा प्रदर्शन


eShilalekh

२७ श्रावण २०८२, मंगलवार १३:५१

सिमराः वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलवार एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका २५ खाल्वा टोलाका राहुल साह तुराहा रहेका छन् ।

कारागारमा व्यायाम गर्ने क्रममा तुराहाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल लगिएको कारागार प्रशासनले जनाएको छ । अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरेको थियो ।

रेफर प्रक्रिया पूरा गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

यता मृतकका आफन्तले अस्पताल र कारागार प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरेका छन् । रेफर प्रक्रियामा ढिलाइ भएको र कारागार प्रशासनले समयमै अन्य अस्पताल लैजान अनुमति नदिएका कारण मृत्यु भएको आफन्तको आरोप छ ।

मृतकका आफन्तलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको प्रवक्ता लम्सालले बताए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ ।

तुराहा २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्