महासंघका पत्रकारमाथि कानून व्यवसायीको आक्रमण, दर्जनौँ घाइते

सिमराः नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि लिजमा लिएको जग्गासम्बन्धी विवादमा कानून व्यवसायीले पत्रकारमाथि हातपात गरेका छन् ।
गुठीको जग्गालाई लिएर उत्पन्न विवादका क्रममा कानून व्यवसायीहरूले पत्रकारहरूमाथि हातपात गर्दा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पदाधिकारीसहित दर्जनौँ पत्रकार घाइते भएका छन् । जग्गामा तारबार लगाउन थालेपछि वकिलहरुले पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।
पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराका अनुसार वकिलहरूको समूहले पत्रकार सम्मेलनपछि पत्रकारहरूमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर दर्जनौं पत्रकार गम्भीर घाइते भएका छन् ।
महासंघका महासचिव शैलेन्द्र महत्तो क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार दिवाकर रायको अवस्था अत्यन्तै गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
यस्तै महासंघका उपाध्यक्ष ज्योति झा, पत्रकार अनिल कुमार निराला लगायत अन्य पत्रकार घाईते भएका छन् ।
अध्यक्ष बञ्जाराका अनुसार हाल घाइते पत्रकारहरूको उपचारलाई प्राथमिकता दिइएको छ । महासंघले घटनाबारे गम्भीर छलफल गरी आवश्यक कानुनी तथा संस्थागत कदम चाल्ने तयारी गरेको उनको भनाई छ ।