पत्रकारमाथिको आक्रमणबारे मानव अधिकार आयोगले देखायो चासो


eShilalekh

२८ श्रावण २०८२, बुधबार १६:३७

जनकपुरधाम: जनकपुरधामका पत्रकारमाथि वकिलहरुको समूहले गरेको आक्रमणबारे राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले औपचारिक अनुसन्धान सुरु गरेको छ। आयोगको टोली बुधबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय पुगेर घटनाबारे विस्तृत जानकारी संकलन गरेको हो।

आयोगका अधिकृत किरण घिमिरे र राहुलकुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोलीले महासंघका पदाधिकारी र घाइते पत्रकारहरूसँग प्रत्यक्ष भेट गरी विवरण लिएको छ। साथै टोलीले अन्य सम्बन्धित व्यक्तिहरूसंग छलफल गर्दै प्रमाण संकलन गरेको आयोगले जनाएको छ ।

नेपाल पत्रकार महासंघका अनुसार आक्रमणबाट महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिलकुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै महासंघकी उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवसँग लैङ्गिक संवेदनशीलताविपरीत हातपात र दुर्व्यवहार गरिएको थियो ।

महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र संवैधानिक सर्वोच्चता तथा कानुनी शासनको मर्यादा कायम राख्न आयोगलाई आग्रह गरेको छ।

घटनाबारे छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्ण, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, सचिव हदिस खुद्दार, धनुषा शाखा अध्यक्ष पुरण गुप्ता लगायतका पत्रकारहरूको उपस्थिति थियो । आयोगका प्रतिनिधिहरूले उपलब्ध प्रमाण र थप अनुसन्धानका आधारमा छिट्टै प्रतिवेदन पेस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव नेतृत्वको टोली पनि महासंघ मधेश प्रदेश कार्यालयमा पुगेर घटनाबारे जानकारी लिएको छ। यस्तै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेश प्रदेश कार्यालयका प्रमुख राजु पासमानसहितको टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा घाइते पत्रकारलाई भेटेर आवश्यक विवरण संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्