निजगढमा १५ करोडका योजना संचालन हुने, प्राविधिकसहित स्थलगत अनुगमन सम्पन्न


eShilalekh

२८ श्रावण २०८२, बुधबार १७:००

निजगढ: निजगढ नगरपालिकामा करिब १५ करोड रुपैयाँ लागतका विभिन्न योजना संचालन हुने भएका छन् । बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको संसद विकास कोषबाट संचालन हुने योजना निर्माण स्थलको बुधबार प्राविधिकसहित स्थलगत अनुगमन गरिएको छ ।

नगर प्रमुख सुरथ पुरीको पहलमा संघीय सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत गरेका योजनाहरु सघन, शहरी तथा भवन निर्माण आयोजना मार्फत कार्यान्वयन गरिने छन् । यी योजना बारा जिल्ला निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीको संसद विकास कोषबाट संचालन हुनेछन् ।

स्थलगत अनुगमनमा सांसद मैनाली, नगर प्रमुख पुरी, उपप्रमुख सोम माया थिङ, सघन शहरी आयोजनाका प्राविधिक टोली, नगरपालिकाका ईन्जिनियर रुपेश यादव र अशोक कुशवाहासहित सम्बन्धित वडाका अध्यक्ष तथा सदस्य, राजनीतिक दलका प्रतिनिधि र सामाजिक व्यक्तित्वको उपस्थिति थियो ।

अनुगमनका क्रममा योजनाहरूको स्थान, आवश्यकता र कार्यान्वयन प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो । स्थलगत अवलोकनपछि छिट्टै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख पुरीले योजनाहरू समयमै सम्पन्न गरेर नगरवासीलाई प्रत्यक्ष लाभ दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्