मन्त्री साहले गरिन् श्रीपुरमा ११ कोठे बजार सेड भवनको उद्घाटन


eShilalekh

२९ श्रावण २०८२, बिहीबार १२:१५

सिमराः प्रतिनिधिसभा सदस्य एवम् पूर्व कृषीमन्त्री ज्वालाकुमारी साहले कलैया उपमहानगरपालिका १६ श्रीपुरमा नवनिर्मित ११ कोठे बजार सेड पक्की भवनको उद्घाटन गरेकी छिन् ।

रिलायन्स सुगर मिल नजिकैको चिनिमिल विद्यागर श्रीपुर कृषि बजार क्षेत्रमा बनेको भवन कृषि मन्त्रालयको ८० लाख रुपैयाँ बजेटमा निर्माण भएको हो ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री साहले कृषि मन्त्रालयमा एक सय २३ दिन मात्र मन्त्री रहँदा किसानका उखु अनुदान, दूध बाँकी रकम भुक्तानी, सुन्तला राष्ट्रिय फल घोषणा तथा मल आपूर्तिका नियमावली संशोधन जस्ता महत्वपूर्ण कार्य सम्पन्न गर्न सफल भएको बताइन् । उनले आफ्नो कार्यकालमा ५० भन्दा बढी स्थानमा डिप बोरिङ र विभिन्न ठाउँमा पाँच करोड रुपैयाँ भन्दा बढी लागतमा बजार सेड निर्माण भएको उल्लेख गर्दै कृषिलाई बजेटको प्राथमिकतामा पार्न सरकारसँग आग्रह गरिन् ।

भवन निर्माण समितिका अध्यक्ष गोरख यादवले अनुसार साताको दुई दिन मात्रै संचालन हुँदै आएको स्थानीय कृषि बजारलाई यो भवनले व्यवस्थित बनाउन मद्दत गर्ने बताए । कृषी बजारबाट श्रीपुर, झिट्कैया, विद्यानगरलगायत आधा दर्जन गाउँका किसान तथा उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्