वीरगन्जमा सुनचाँदी पसलमा प्रहरीको छापा, व्यवसायीको आपत्ति


eShilalekh

२९ श्रावण २०८२, बिहीबार १९:०७

वीरगन्ज: पर्साको वीरगन्ज महानगरपालिका ६ माईस्थानस्थित गहवामाई मन्दिर नजिक सञ्चालित दीपसन एण्ड सानवी ज्वेलर्स मा बिहीबार प्रहरीले छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालको नेतृत्वमा गएको टोलीले बिलबिजक बिना सुनचाँदीको कारोबार भइरहेको सूचनाका आधारमा दिउँसो करिब २:३० बजे पसलमा छापा मारेको हो।

छापाको खबर फैलिएपछि वीरगन्जका सुनचाँदी व्यवसायी र कालीगढहरू घटनास्थलमा भेला भई प्रहरीविरुद्ध नाराबाजी गर्दै विरोध गरेका थिए।

डीएसपी लम्सालका अनुसार पसल सञ्चालक दीपक सर्राफसँग खरिद र बिक्रीका बिलबिजक मागी करिब तीन घण्टासम्म अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा बिलबिजकमा कैफियत देखिएपछि आन्तरिक राजस्व कार्यालय वीरगन्जका कर्मचारीलाई बोलाएर ती कागजात जिम्मा लगाइएको डीएसपी लम्सालले बताए।

प्रहरीको भनाइमा बिलबिजक हेर्दा खरिद गरिएको सुनको परिमाण बिक्री गरिएको भन्दा बढी देखिए पनि त्यसअनुसार मौज्दातमा सुन नभेटिएको हो। यसबारे थप अनुसन्धानका लागि राजस्व कार्यालयले काम अघि बढाउने बताइएको छ।

तर पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सर्राफले भने प्रहरीले कार्यक्षेत्र नाघेर गैरकानुनी रूपमा पसलमा छापा मारेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्