छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सिमरा: सर्लाहीको चक्रघट्टा गाउँपालिका र ईश्वरपुर नगरपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
चक्रघट्टा गाउँपालिका ५ पडरियामा गएराति बीआर ३० एजी ५०३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बरन बैठाको मृत्यु भएको हो । सोही दुर्घटनामा पैदलयात्री २० वर्षीय दीपक मण्डल गम्भीर घाइते भएका छन् ।
उनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका चालक चक्रघट्टा १ का २० वर्षीय हरेकृष्ण यादवलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै ईश्वरपुर नगरपालिका १ चौलिखामा एचपी ५५ एसी ६१०५ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक ईश्वरपुर ७ पोखरी टोलका २४ वर्षीय अमनदीप राम गम्भीर घाइते भएका थिए। उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पताल ल्याइएका उनको साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।