द्रुतमार्ग प्रभावित क्षेत्रका माग कार्यान्वयन गर्न सांसद मैनाली र मेयर पुरीको पहल


eShilalekh

१ भाद्र २०८२, आईतवार १४:२५

सिमराः बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीको नेतृत्वमा काठमाण्डौ सिंहदरबारमा रक्षा मन्त्री मानवीर राईसँग भेटवार्ता गरी निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना तराई-मधेश द्रुतमार्ग (फास्टट्रयाक) को सन्दर्भमा महत्वपूर्ण छलफल गरिएको छ।

छलफलपछि आयोजना प्रभावित क्षेत्र निजगढको भूगोलमा आयोजना कार्यालयले सामाजिक उत्तरदायीत्व अन्तर्गत बहन गर्नुपर्ने योजनाहरू कार्यान्वयनका लागि आवश्यक समन्वय, सहजीकरण र निर्देशनको लागि रक्षा मन्त्रीलाई अनुरोध गरिएको हो। सो अवसरमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, साविक निजगढ गाविसका पूर्वअध्यक्ष एकबहादुर श्रेष्ठलगायत उपस्थित थिए।

सांसद मैनालीर मेयर पुरीले फास्टट्रयाक प्रभावित क्षेत्रमा स्थानीय आवश्यकतालाई सम्बोधन गर्नुपर्ने भन्दै बकैया नदी अन्तर्गत मोहोरीमा चेक ड्याम निर्माण, नदी किनारामा जलाशय निर्माण, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बकैया पुलदेखि उत्तर मोहोरीसम्म र दक्षिणतर्फ बकैया आर्यघाटसम्म आवश्यक संरचना सहित ड्याम निर्माण, लामो समयदेखि सञ्चालनमा रहेका कुलो सिचाइ प्रणालीको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक मर्मत सम्भार गर्न माग गरेका छन् ।

रक्षा मन्त्री राईले मागहरूलाई सम्बोधन गर्न आवश्यक समन्वय गरी कार्यान्वयनमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको सांसद मैनालीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्