सर्लाहीमा विद्यालय बस दुर्घटना, पाँच विद्यार्थी र चालक घाइते

सर्लाही: सर्लाहीको चन्द्रनगर गाउँपालिका १ फरिद टोलमा सोमबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन्।
ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको माउन्ट कन्चनजंघा बोडिङ स्कुलको विद्यार्थी बोकेर आउँदै गरेको ना ५ ख ७३७३ नम्बरको बस अनियन्त्रित भई सडक छेउको धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।
दुर्घटनामा बस चालक ३२ वर्षीय रामकरण महतोसहित सात वर्षीया सृष्टी साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीय सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो घाइते भएका छन्।
प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य छ। उनीहरुको उपचार लालबन्दीस्थित मोडेल अस्पतालमा भइरहेको छ।