लोकतान्त्रिक महिला सञ्जाल बाराको आयोजनामा तीज विशेष कार्यक्रम

सिमराः लोकतान्त्रिक महिला सञ्जाल बाराको आयोजनामा सोमबार सिमरामा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । जीतपुरसिमरा २ स्थित रोयल पार्टी प्यालेसमा ‘नेतृत्वमा महिला, परिवर्तनमा गति’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी महिलाहरूले तीज पर्वलाई खुशी, एकता र सशक्तीकरणको अवसरका रूपमा मनाउँदै समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गरे। वक्ताहरूले यस्ता कार्यक्रमहरूले महिलाको सहभागिता, सामाजिक चेतना र अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा महिलाहरूले तीज गीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
लोकतान्त्रिक महिला सञ्जाल बाराकी अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ मेघा शाहीले तीज पर्व धर्म, संस्कार, पारिवारिक समर्पण, दिदीबहिनीबीचको भेटघाट, नाचगानको रमाइलो र महिलाको सशक्तीकरणको अवसर भएको बताइन् । उनले सबै महिलाले एकजुट भएर समाजको अन्धविश्वास चिर्ने र शान्ति तथा स्थायित्व कायम गर्न सक्नेमा जोड दिइन्।
शाहीको अध्यक्षता तथा मधेस प्रदेशसभा सदस्य मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य मधु शाही ठकुरी, नेपाली कांग्रेसकी आमन्त्रित केन्द्रीय सदस्य निरु रायमाझी, कांग्रेस नेतृ राधा देवी, दुर्गा रिजाल, प्रतिभा पौडेल, सञ्जालकी उपाध्यक्ष बबिता जयसवाल, कोषाध्यक्ष मुगलिसा खातुनलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संचारकर्मी एवम् सञ्जालकी सचिव प्रियंका दासले गरेकी थिइन्।