जीतपुरसिमरामा कांग्रेसले गठबन्धन नस्विकार्ने, एक्लै चुनाव लड्ने


eShilalekh

३० चैत्र २०७८, बुधबार १०:१९

सिमरा: सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानिय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेपनि स्थानीय स्तरमा त्यसको कार्यान्यवन कठिन देखिएको छ ।

गठबन्धनले स्थानीय संयन्त्रमार्फत तालमेल र उम्मेदवारको टुंगो लगाउने नीति लिएपनि स्थानीय स्तरमा भने त्यसको विरोध हुन थालेको छ । कार्यकर्ताको भावना विपरित तालमेल र भागबण्डा भए गठबन्धनमा आवद्ध दलका नेताकार्यकर्ता नस्विकार्ने पक्षमा देखिएका छन् ।

गठबन्धनका नेतृत्वले मिलेरै अघि बढ्ने निर्णय गरिरहदा जीतपुरसिमरा उपमहानगरपालिकामा भने नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई प्रमुख पद दिएर तालमेल हुने संकेत देखेपछि कांग्रेसले त्यसअघि नै एक्लै निर्वाचनमा जाने घोषणा गरेको हो ।

नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (क) र जीतपुरसिमरा नगर समितिले बैठकनै बसेर गठबन्धन गरेर नभई एक्लै चुनाव लड्ने निर्णय गरेका हुन् । कांग्रेस ४(क) का सभापति सुमनकुमार भट्टराईले कांग्रेस एक्लै चुनाव लड्न सक्षम भएकाले गठबन्धन भन्दा पनि एक्लै चुनावमा उत्रने बताए ।

यसैगरी जीतपुरसिमरा नगर समितिका सभापति छविलाल शर्माले कांग्रेसले कांग्रेस कार्यकर्ताको भावनालाई सम्मान गर्दै कसैसंग तालमेल नगर्ने र एक्लै चुनावमा जाने निर्णय गरेको जानकारी दिए । गठबन्धनको नाममा अर्को दलको उम्मेदवारलाई स्विकार्न नसकिने भन्दै शर्माले पार्टीको अस्तित्व जोगाउन एक्लै निर्वाचनमा जाने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्