धिरु भनिने धिरेन्द्रको अपराध श्रृंखलाः पहिला पत्नीको हत्या, अहिले शिक्षक

सर्लाही: सर्लाहीको हरिपूर्वामा गत शुक्रबार गोली प्रहार गरी शिक्षक हत्या भएको घटनामा प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त संलग्न रहेको पाइएको छ । जिल्लाको दक्षिण–पूर्वी भेगमा अवस्थित हरिपूर्वा नगरपालिका ६ मा शुक्रबार घरमा बसिरहेका बेला ५० वर्षीय रामपुकार यादवमाथि गोली प्रहार भएको थियो ।
कन्चटमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
यादवलाई हरिपूर्वा नगरपालिका ५ का धिरु भनिने धिरेन्द्र रायले गोली प्रहार गरेको खुलेको छ । धिरेन्द्र प्रहरीको मष्ट वाण्टेड सूचिमा रहेका अपराधी हुन् । उनले ११ महिनाअघि आफ्नै २३ वर्षीया पत्नी चित्रलेखा यादवको समेत हत्या गरेका थिए ।
गत असोज ९ गते राति धिरन्द्रले गोली प्रहार गर्दा चित्रलेखाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा धिरेन्द्रका बुवा दिनेश यादव समेत गोली लागेर घाइते भएका थिए ।
घटनालगत्तै फरार भएका धिरेन्द्रले ११ महिनापछि अर्को हत्या गरेका हुन् । तर यसपटक भने उनी भाग्न पाएनन् । गोली प्रहार गरी भाग्दै गर्दा धिरेन्द्र सवार मोटरसाइकल दुर्घटना हुन पुग्यो । जसले गर्दा उनी पक्राउ परे । उनीसंगै मोटरसाइकलमा सवार अर्का अभियुक्त भने फरार भए ।
दुर्घटनामा घाइते भएका धिरेन्द्रलाई उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको छ । घटनामा संलग्न अर्का फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिएका छन् ।