रौतहटको गौरमा चक्कु प्रहार गरी युवकको हत्या, एक पक्राउ

रौतहटः रौतहटको गौर नगरपालिका ५ मा बुधबार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। बरहवा तालस्थित झुलुङ्गे पुल नजिक करिब १८ वर्षीय युवकलाई पेट र छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
घटनामा संलग्न भएको आरोपमा गौर नगरपालिका ३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी राजु कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार रामलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । हत्याको कारण खुलेको छैन।