बडहर्वा र उत्तरझिट्कैंयामा साना किसान कृषि सहकारीको ब्युटिसियन तालिम सम्पन्न


eShilalekh

४ भाद्र २०८२, बुधबार १७:२५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वास्थित साना किसान कृषि सहकारी संस्थाले सञ्चालन गरेको तीन महिने सीपमूलक ब्युटिसियन तालिम सम्पन्न भएको छ। सहकारीको सभाकक्षमा बुधबार आयोजना गरिएको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा वडाध्यक्ष चतुरबाबु वाग्लेले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वाग्लेले सीपलाई स्वरोजगारको बलियो आधारको रूपमा लिँदै सहकारीले सदस्यहरूको आयआर्जन वृद्धिका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताए । ‘सीपलाई लगनशील भएर व्यवहारमा उतार्न सके आम्दानीको गतिलो श्रोत निर्माण हुन्छ’ वाग्लेले भने। उनले माग भए ब्युटिसियन तालिमको एड्भान्स कोर्षका लागि पनि सहयोग गर्ने आश्वासन दिए।

तालिम जीतपुरसिमरा १८ को बडहर्वा र कलैया १६ को उत्तरझिट्कैंया गरी दुई स्थानमा सञ्चालन गरिएको थियो । तीन महिनासम्म चलेको तालिममा ५० जना सदस्यकी छोरीहरूको सहभागिता रहेको सहकारीले जनाएको छ। तालिम गत जेठको पहिलो साताबाट सुरु भई भाद्र २ गते सम्पन्न भएको हो।

तालिम सीटीईभीटी हेटौंडाकी प्रशिक्षक शर्मिला खनालको निगरानीमा सञ्चालित भएको हो। तालिममा स्थानिय प्रशिक्षक सुस्मीता श्रेष्ठ, जुनी योञ्जन, आरती कुमारी र सुमन कुमारीले सहजीकरण गरेका थिए।

समापन कार्यक्रममा बोल्दै सहभागीहरूले एड्भान्स कोर्ष सञ्चालन गर्न माग गर्दै सहकारीले दिएको तालिम उपयोगी भएको बताएका छन् । तालिमका प्रशिक्षक र सहभागीलाई सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्का र वडाध्यक्ष वाग्लेले प्रमाणपत्र वितरण गरेका थिए । अध्यक्ष खड्काको अध्यक्षता, संचालक विनिता गौतमको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्