अनेमसंघको सपथ ग्रहण सम्पन्न, सम्पर्क कार्यालय उद्घाटन


eShilalekh

१ बैशाख २०७९, बिहीबार १५:०४

सिमरा: नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगर कमिटीको सपथ ग्रहण सम्पन्न भएको छ । संघको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीले सपथ ग्रहण गरेका हुन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वतीदेवी चौधरीले कमिटीका पदाधिकारी र सदस्यलाई सपथ ग्रहण गराएकी थिईन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै चौधरीले स्थानिय तहको निर्वाचनमा एमालेलाई जिताउन सशक्त ढंगल अघि बढ्न आग्रह गरिन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख समेत रहेकी चौधरीले नगर भित्रका महिला प्रतिबद्ध भएर अघि बढे स्थानिय तहको निर्वाचनमा एमालेलाई कुनै शक्तीले पराजित गर्न नसक्ने चौधरीको भनाई थियो । निर्वाचनमा नगर र वडामा महिलाको प्रतिनिधित्व बढी हुने गरी संघले भूमिका खेल्न उनले आग्रह गरिन् ।

कार्यक्रममा एमाले बाराका पूर्व अध्यक्ष एवम् प्रदेश कमिटी सदस्य देवनारायण चौधरीले अघिल्लो निर्वाचनमा भन्दा बढी जनप्रतिनिधिसहित जीतपुरसिमरामा एमालेले जीत हासिल गर्नुपर्ने बताए । चौधरीले एमालेलाई जिताउन नगर, वडा र टोलमा एमालेको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

एमाले बाराका सचिवालय सदस्य मनोज पौडेलले महिला सशक्तीकरणमा संघले नेतृत्वदायी भूमिका खेल्न सुझाव दिए । नगरभरी महिलालाई सक्षम बनाएर नेतृत्वमा ल्याउने महत्वपूर्ण भूमिका संघको रहेको भन्दै पौडेलले त्यसका लागि पार्टीले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

नेता पौडेलले आसन्न स्थानिय तहको निर्वाचनमा एमालेलाई जीतपुरसिमरामा बहुमतसहित बिजयी बनाउन जरुरी रहेको बताए । अघिल्लो निर्वाचनमा अल्पमतमा रहेका कारण एमालेलाई असफल बनाएर आफ्नो अस्तित्व जोगाउन अन्य दल सक्रिय भएकाले त्यस विषयमा समग्र पार्टी पंक्ती र कार्यकर्ता सचेत हुनुपर्ने पौडेलको भनाई थियो ।

कार्यक्रममा एमालेका प्रदेश, जिल्ला, नगर र वडा कमिटीका प्रतिनिधि, संघको नगर भित्रका प्रतिनिधि, विभिन्न जनवर्गिय संगठनका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा संघको सम्पर्क कार्यलय समेत उद्घाटन गरिएको छ । स्थानिय चुनावलाई लक्षित गर्दै संघले सम्पर्क कार्यालय उद्घाटन गरेको छ । संघकी नगर अध्यक्ष अनिता लम्साल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमृतलाल श्रेष्ठ, कासिम हुसेन, कमला अधिकारी, अनिता चौधरी, कमल चौधरी, सुभद्रा न्यौपाने, देवी सापकोटा, रविन्द्र खकुरेल, धनबहादुर श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्