लिपुलेकसम्बन्धी भारतको वक्तव्यप्रति अनेरास्ववियु बाराको आपत्ति


eShilalekh

५ भाद्र २०८२, बिहीबार १९:४९

सिमरा: भारत सरकारले लिपुलेकसम्बन्धी दिएको वक्तव्यप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) जिल्ला समिति बाराले कडा आपत्ति जनाएको छ।

अनेरास्ववियुले बिहीबार एक विज्ञप्ति जारी गर्दै लिपुलेकका सम्बन्धमा भारतको वक्तव्य र लिपुलेकको भूमि प्रयोग गरेर भारत-चीनको व्यापार सुरु गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त कुरा स्विकार्य नहुने जनाएको छ । विज्ञप्तिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य अंग भएको स्पष्ट गर्दै सुगौली सन्धि १८१६ लगायतका ऐतिहासिक प्रमाण र अन्तर्राष्ट्रिय कानूनी आधारहरुले पनि यसलाई पुष्टि गर्ने उल्लेख छ।

अनेरास्ववियु बाराका संयोजक महमद अजरुदिन अंसारी र जिल्ला इन्चार्ज आशिफ अहमदद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘भारतले आफ्नो स्वार्थका लागि दशौं वर्षदेखि नेपालको भूमि अतिक्रमण गर्दै आएको छ, जुन तुरुन्त रोक्नुपर्छ।’

अनेरास्ववियु बाराले भारतको यस्तो कदमले दुई देशबीचको ऐतिहासिक सम्बन्धमै चोट पुर्‍याएको बताएको छ। ‘नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि कुनै सम्झौता हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियुले सम्पूर्ण नेपाली जनतालाई एकजुट भई भारतको अतिक्रमणकारी गतिविधिविरुद्ध आवाज उठाउन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्