मधेस प्रदेशमा शैक्षिक आपतकालको घोषणा गर्न राप्रपा नेतृ खुश्बु ओलीको माग

जनकपुरधाम: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवम् प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओलीले मधेस प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरी विशेष नीति र बजेट ल्याउन माग गरेकी छन्।
मधेस प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई विहीबार ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै ओलीले प्रदेशको शैक्षिक स्थिति सुधार्न सुझाव दिएकी हुन्। ओलीले यस वर्षको एसईई नतिजा राष्ट्रिय स्तरको तुलनामा निकै कमजोर रहेकाले चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रिय रूपमा ६२ प्रतिशत विद्यार्थी पास भए पनि मधेशबाट केवल २८ प्रतिशत विद्यार्थीले मात्रै परीक्षा पास गरेका छन्।
नेतृ ओलीले प्रदेशमा ७२ प्रतिशत विद्यार्थी नन-ग्रेडेड भएको र यसले उनीहरूको भविष्यमा ठूलो प्रभाव पार्ने भएकाले तत्काल ध्यान दिन आवश्यक रहेको उल्लेख गरेकी छिन् । उनले कक्षा ९ र १० मा मधेसबाट ड्रपआउटको संख्या बढ्दै गएको र शैक्षिक स्थिति निरन्तर खस्कदै गएकाले शैक्षिक संकटकाल घोषणा गर्नुपर्नेमा जोड दिएकी छन्।

