रौतहटमा सुटकेशभित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो

रौतहटः रौतहटको गौर नगरपालिका ९ स्थित गौर–सिर्सिया सडकखण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी महिलाको शवको पहिचान खुलेको छ ।
सुटकेशमा भेटिएकी महिला माधवनारायण नगरपालिका २ माधवपुरकी ३५ वर्षीया रुबीकुमारी साह रहेकी छिन् ।
महिलाको शव शनिबार राति ८ बजे सडकको छेउमा सुटकेशभित्र भेटिएको थियो । डोरीले बाधेको सुटकेश सडक छेउमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृत भेटिएकी महिलाको घर भारत मुजफ्फरपुर हो । मुजफ्फरपुरमा विवाह गरेकी उनी माधवपुरमा बस्दै आएकी थिईन् । उनी शनिबार साँझदेखि बेपत्ता भएको जानकारी परिवारले दिएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।