वीरगन्जमा हैजा नियन्त्रणका लागि मधेस प्रदेश सरकारद्वारा औषधि र सामग्री उपलब्ध


eShilalekh

८ भाद्र २०८२, आईतवार १३:०६

वीरगन्ज: मधेस प्रदेश सरकारले हैजा प्रभावित बिरामीको उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री वीरगन्जस्थित नारायणी अस्पतालमा उपलब्ध गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले आइतबार नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई औषधि तथा सामग्री हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनअनुसार झाडापखाला र हैजाका बिरामीको उपचारका लागि आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत अस्पतालमा पठाइएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए। ‘बिरामीको उपचारका लागि आवश्यक थप औषधि र सामग्री उपलब्ध गराउन प्रदेश सरकार तयार छ’ उनले भने ।

वीरगन्जमा हैजाको संक्रमणबाट बिरामी हुनेको संख्या बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ। अहिले विभिन्न अस्पतालमा एक सय २९ जना बिरामी उपचाररत छन्।

महानगरपालिकाका वडा नम्बर ३, ११, १२ र १३ मा हैजाका बिरामी भेटिएका छन्। नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेशनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुई जना हैजाका बिरामी उपचार भइरहेको ठाकुरले जानकारी दिए।

अहिले झाडापखाला र हैजाका शंकामा तीन सयभन्दा बढी बिरामी अस्पतालमा उपचाररत छन्। बिरामीको संख्या दिनानुदिन बढ्दै गएपछि अस्पतालहरूमा शय्याको अभाव भएको छ।

हैजाको संक्रमण बढ्न थालेपछि वीरगन्ज महानगरपालिकामा सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखाले आइतबार र सोमबार सामुदायिक तथा संस्थागत विद्यालय बन्द राख्न सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्