कलैयामा तीन दलीय मोर्चा, कांग्रेसलाई नस्विकार्ने संकेत


eShilalekh

१ बैशाख २०७९, बिहीबार १५:५७

कलैया: सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय संयन्त्रमार्फत तालमेल र उम्मेदवारको टुंगो लगाउने नीति लिएपनि स्थानीय स्तरमा भने त्यसको कार्यान्यवन जटिल बन्दै गएको छ ।

आपसी तालमेललाई प्रभावकारी बनाउन गठबन्धनको केन्द्रीय तहमा कसरत चलिहरदा स्थानिय स्तरमा भने गठबन्धनमा आवद्ध दलका नेताकार्यकर्ता केन्द्रको विपरित देखिएका छन् ।

केन्द्रीय तहमा गठबन्धनलाई जोगाएर अघि बढ्दै गरेको पाँच दलको स्थिती जिल्लामा भने फरक छ । केन्द्रीय गठबन्धनलाई जिल्लाले नस्विकार्ने अवस्था देखिएको छ । जीतपुरसिमरामा कांग्रेसले एक्लै चुनाव लड्ने घोषणा गरेको केही दिनमै कलैयामा कांग्रेस बाहेक अन्य दल एक देखिएका छन् ।

पाँच दलीय गठबन्धनमध्ये तीन दलले विहिवार पत्रकार सम्मेलन गरेर निर्वाचन लड्ने घोषणा गरेका छन् । जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले पत्रकार सम्मेलन गरेर निर्वाचनमा एक भएर जाने घोषणा गरेका हुन् । पत्रकार सम्मलेनमा कांग्रेस र राष्ट्रिय जनमोर्चाको उपस्थिति रहेको थिएन् ।

पाँच दलको गठबन्धनले कांग्रेसको नेतृत्वमा रहने जिल्ला स्तरीय संयन्त्रले तालमेलको टुंगो लगाउने नीति बनाएपनि कलैयामा उपमहानगरपालिकामा तीन दलले छुट्टै गठबन्धन बनाएका हुन् । कांग्रेस गठबन्धनमा आए तालमेल हुने अन्यथा तीन दल एक भएर अघि बढ्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

जसपा कलैया नगरका अध्यक्ष शिवनाथ पटेलले आगामी निर्वाचनमा तीन दलबीच गठबन्धन गरेर अघि बढ्ने सहमती भएको जानकारी दिए । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष मुकेश साहले पाँच दलीय गठबन्धनमा रहेका अन्य दलसंग छलफल भईरहेको र अन्य दल नआए तीन दल मिलेर अघि बढ्ने निर्णय भएको जानकारी दिए । नेकपा एसका नगर अध्यक्ष अरुण खनालले तीन दलबीचको सहमतीलाई जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए । पत्रकार सम्मेलनमा जसपा नेता प्रमोद गुप्ता, रामकिशोर यादव, नेकपा एसका ध्रुव यादवलगायत तीन दलका नेताकार्यकर्ता उपस्थित थिए ।

केन्द्रीय गठबन्धनले कलैयामा उपमहानगरको नेतृत्व नेपाली कांग्रेसलाई दिने संकेत पाएपछि जिल्लामा अन्य तीन दल एक भएका हुन् । कांग्रेसले यसअघि कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । विजयी भएको पालिकामा कांग्रेसलाई दिने निश्चित जस्तै भएपछि अन्य दलले छुट्टै मोर्चा बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्