सिमराकी अनिता लम्साल वीरगन्जमा सम्मानित

सिमराः सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाकी निवर्तमान अध्यक्ष एवम् सल्लाहकार अनिता लम्साल ‘मध्य नेपाल उत्कृष्ट महिला अवार्ड’ बाट सम्मानित भएकी छिन् । वीरगन्जमा आयोजित एक कार्यक्रमकाबीच लम्साल सम्मानित भएकी हुन् ।
लम्साललाई बारा क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह र मध्य नेपाल प्रालिकी अध्यक्ष कविता खड्काले सम्मान गरेका थिए ।
लम्साल मधेस प्रदेश भित्रका चार उत्कृष्ट महिलामा पर्दै सम्मानित भएकी हुन् । उनी सहकारीको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय छिन् । हिंसामा परेका महिलालाई संरक्षण र पुर्नस्थापित गर्न सिमरामा महिला पुर्नस्थापना केन्द्र स्थापनाका लागि उनले अगुवाई गरिरहेकी छिन् ।
उनी एमाले निकट अखिल नेपाल महिला संघको जीतपुरसिमरा नगर समिति अध्यक्ष समेत हुन् । उनी सारथी स्वरोजगार तथा बजारीकरण संघमा समेत आवद्ध छिन् । उक्त संघले महिलालाई स्वाबलम्बन बनाउन र स्थानीय उत्पादनलाई बजारीकरण गर्न काम गरिहरको छ ।