अखिल नेपाल किसान महासंघ मधेस प्रदेशको विस्तारित बैठक तथा प्रशिक्षण सिमरामा सम्पन्न


eShilalekh

८ भाद्र २०८२, आईतवार १९:५८

सिमराः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ मधेस प्रदेशको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आइतबार सिमरामा सम्पन्न भएको छ।

महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यद्धय पुरुषोत्तम पौडेल र ज्वालाकुमारी साह, एमाले प्रदेश सचिव मनोज पौडेल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, पूर्व प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, जीतपुरसिमरा उपमहानगरका उपप्रमुख भोलाप्रसाद अधिकारी, महासंघका उपाध्यक्ष प्रेम अधिकारी, महासंघका सचिव उमेश गुप्ता लगायत, कृषि विज्ञ नरेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष डा. दंगालले सरकारले कृषक आयोग गठन गर्नुपर्नेमा जोड दिँदै किसानले उत्पादन गरेका वस्तु सहज रूपमा बजारसम्म पुगोस् भन्ने व्यवस्था मिलाउनुपर्ने बताए। उनले उखु लगायतका बालीमा सरकारले अनुदान दिनुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी मधेस प्रदेश इन्चार्ज श्रेष्ठले सुनकोशी-मरिन-बागमती सिँचाइ आयोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए। पूर्वमन्त्री पुरुषोत्तम पौडेलले किसान आन्दोलनको इतिहास बोकेको बारा लगायत मधेसका किसानलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उत्पादन हुने खाद्य सामग्रीलाई उचित बजार मूल्य दिलाउने व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने बताए ।

पूर्व कृषी मन्त्री समेत रहेकी प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साहले किसानको मेहनत बिना मुलुकको समृद्धि सम्भव नभएको र भन्दै सरकारले किसानलाई किसानलाई प्राथमिकतामा राख्ने बताईन् । उनले मल, बीउ, सिँचाइ र बजार व्यवस्थामा सरकारले थप लगानी गरेर किसानलाई सहज वातावरण बनाउने बताईन् ।

निरञ्जन चौधरीको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण रामप्रसाद घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्