वीरगन्जबाट काठमाडौं पठाइएका १० मध्ये आठ नमूनामा हैजाको संक्रमण पुष्टि

वीरगन्जः वीरगन्जबाट हैजाको आशंकामा पठाइएका बिरामीको नमुना परीक्षण गर्दा आठ जनामा हैजाको संक्रमण पुष्टि गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट पठाइएका १० नमुनामध्ये आठ वटा नमुनामा हैजाको संक्रमण पुष्टि गरेको हो ।
वीरगन्जबाट नमुना स्वरूप हैजा सङ्क्रमितहरूको दिसा पठाइएको थियो । प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा आठ नमुनामा हैजाको संक्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले जानकारी दिए ।
उनका अनुसार नमुनाहरूको ‘भाइटेक’ प्रविधिबाट कल्चर गरेर ४८ घण्टामा परिणाम आएको हो । बाँकी दुई नमुनाको परीक्षणको नतिजा बुधबार आउने भट्टले बताए ।
यता वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हैजा र झाडापखलाका एक सय ७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् ।
शुक्रबारयता तीन सय ९१ जना झाडापखला र हैजाका बिरामी वीरगन्जका एक दर्जनभन्दा बढी अस्पतालमा उपचारका लागि भर्ना भएका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जनाएका छन् ।