कोल्हबीमा एमालेको चार वडा सर्वसम्मत्, अन्यमा आकांक्षी धेरै


eShilalekh

२ बैशाख २०७९, शुक्रबार १३:०२

सिमरा: स्थानिय तहको निर्वाचनका लागि कोल्हबी नगरपालिकाको ११ वटा वडाध्ये चार वटा वडामा उम्मेदवार चयन सर्वसम्मत भएको छ ।

कोल्हबीको २, ३, ५ र ७ नम्बर वडामा वडा कमिटीले सर्वसम्मत एक जनाको नाम सिफारिस गरेका हुन् । सर्वसम्मत् उम्मेदवारका लागि चयन हुनेमा वडा नं. २ मा गोपाल अधिकारी रहेका छन् । अधिकारी २०७४ सालको निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् ।

यसैगरी वडा नं. ३ मा हरिनारायण चौधरी, वडा नं. ५ मा नन्दकिशोर चौधरी र वडा नं. ७ मा चिन्तामणी चौधरीको नाम सर्वसम्मत् भएको नगर कमिटी अध्यक्ष पुरण चौधरीले जानकारी दिए । चार वडाबाहेक अन्य वडामा भने आकांक्षी धेरै देखिएका छन् ।

वडा नं. १ मा ११ जना र वडा नं. ४ मा आठ जनाले वडाध्यक्षको उम्मेदवारका लागि आकांक्षा देखाएका छन् । वडा नं. ६, ८, ९ र १० मा भने तीन/तीन जनाको नाम आकांक्षीको रुपमा देखिएको छ ।

बढी आकांक्षी भएको वडालाई पुनः छलफल गर्न समय दिएको भन्दै नगर अध्यक्ष चौधरीले सकेसम्म सर्वसम्मत् नभए तीन जनाको नाम पठाउन जानकारी गराएको बताए । नगर अध्यक्ष चौधरी वडा नं. ६ का वडाअध्यक्ष समेत हुन् । उनले भने यसपटक वडामा नदोहोर्‍याउने निर्णय गरेका छन् । नगर प्रमुखको आकांक्षीको रुपमा आफू अघि सारेका चौधरीले पार्टीको निर्णयलाई अन्तिम निर्णय मानेर अघि बढ्ने बताएका छन् ।

कोल्हबी नगरपालिकामा वर्तमान नगर प्रमुख भरतबहादुर भण्डारी, नगर अध्यक्ष चौधरी, गोविन्द पौडेल, ढुण्डीराज उप्रेती, शिवनारायण चौधरीलगायतको नाम चर्चामा छ । २०७४ सालमा निर्वाचित नगर प्रमुख भण्डारीले पुनः एक पटक दोहोर्‍याउने  ईच्छा देखाएका छन् । उपप्रमुखमा वर्तमान उपप्रमुख सुनैना देवी थरुनीसहित ज्ञानु केसी, कल्याणी बिमली, कल्याणी चौधरीको नाम चर्चामा छ ।

यसैगरी नेपाली कांग्रेसबाट रामप्रसाद चौधरी, बसन्त चौधरी, मुरलीधर चौधरीले आकांक्षा देखाएका छन् । मुरलीधर चौधरी २०७४ सालको निर्वाचनमा प्रमुख पदका प्रत्यासी हुन् । नेकपा माओवादी केन्द्रमा देवेन्द्र पराजुली र अमृत जियारको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्